News बिमल निर्णायक बन्दा रारा फाइनलमा
गोलनेपाल

सिरहा । रारा फुटबल क्लब, राजारानी, धनकुटा यहाँ जारी शहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलतर्फ राईट लेन बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै रारा उपाधि नजिक पुगेको हो ।

सिरहा क्याम्पसको खेलमैदानमा भएको खेलमा राराका लागि बिमल घर्ती मगरले गरेको एक मात्र गोल टोलीलाई फाइनल पुर्याउन निर्णायक गोल बन्यो । खेलमा म्यान अफ द म्याच भने खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका रारा कै गोलरक्षक राजु नगरकोटी घोषित भए ।

सलहेश युवा क्लब, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

Post Comments