News साविक विजेता केएफसीलाई उपाधि
गोलनेपाल

नवमीडाँडा । यहाँ सम्पन्न अन्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि साविक विेजता केएफसी, झापाले जितेको छ । फाइनलमा नवकिरण स्र्पोटिङ क्लब, झापालाई शून्यका विरुद्ध २ गोलले हराउँदै केएफसी च्याम्पियन बनेको हो ।

केएफसीका लागि दुवै गोल दिपेश श्रेष्ठले गरे । विजेता बनेको केएफसीले उपाधिसहित नगद २,०५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता नवकिरणले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

फाइनलमा निर्णायक दुई गोल गरेका केएफसीका दिपेश श्रेष्ठले म्यान अफ द फाइनल म्याच सहित सर्वाधिक गोलकर्ताको पुरस्कार पनि हात पारे । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक केएफसीका बिकास टुडु चुनिए ।

उत्कृष्ट डिफेन्डर नवकिरणका सन्जित राई बन्दा केएफसीका मनिष लिम्बु उत्कृष्ट फरवार्ड चुनिए । आयोजक तिजोक युवा क्लबका पुजन लावती उदियमान खेलाडी बन्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी केएफसीका निकेश श्रेष्ठ घोषित भए ।

तिजोक युवा क्लब, पाँचथरको आयोजनामा गत चैत २८ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments