News चन्द्रगढी भेट्रान फुटबलको सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोेड । चन्द्रगढी भेट्रान क्लब झापाको डोमालाल राजवशी रंगशालामा जारी स्व दुर्गादेवी श्रेष्ठ स्मृति भेटन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको तेस्रो क्वाटरफाइनल खेलमा झिलझिले भेट्रान क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै चन्द्रगढीले अन्तिम चारमा स्थान बनाएको हो । सुरुवाती अग्रता झिलझिलेले लिएको थियो ।

खेलको ८ मिनेटमै झिलझिलेका कुमार जोशीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै २३औँ मिनेटमा प्रेमकुमार लिम्बूले गोल गर्दै चन्द्रगढीलाई बराबरीमा ल्याए ।

लगत्तै, २६औँ मिनेटमा सुबास खड्काले चन्द्रगढीको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफको ६ मिनेटमा सुबास आङथुपोले आकर्षक गोल गरेर झिलझिलेलाई बराबरीमा ल्याए ।

दोस्रो हाफको ११औँ मिनेटमा प्रेमकुमार लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै झिलझिलेलाई ३-१ गोलको अग्रता दिलाए । चन्द्रगढीका सुबास खड्काले खेल सकिन १ मिनेट बाँकी रहँदा गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

खेलको प्लेयर अफ दी म्याच चन्द्रगढीका प्रेमकुमार लिम्बू घोषित भए । उनले नगद २ हजार ५ सय पुरस्कार पाए । भोलिको अन्तिम क्वाटरफाइनल खेल आयोजक रातो र इलाम भेट्रानबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।

पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठ स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् । १५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

Post Comments