बुइपा । झिनो अन्तरको जितका साथ यहाँ सम्पन्न कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापा जिल्लाले जितेको छ ।
फाइनलमा भोजपुरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै झापा च्याम्पियन बनेको हो । खेलको १५औं मिनटमा जेनिफर मगरले गरेको एक मात्र गोल झापालाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।
विजेता बनेको झापाले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता भोजपुरले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
झापाकी खुसमा राई फाइनल खेलको प्लेयर अफ द म्याच बनिन् । त्यसवापत उनले नगद २ हजार र ट्रफी हात पारिन् । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक पनि झापा कै जसोदा लिम्बु चुनिईन् ।
उत्कृष्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ बन्दा उत्कृष्ट मिडफिल्डर झापाकी सिमरन राई घोषित भईन् । उत्कृष्ट फरवार्ड भोजपुरकी आरती भुजेल बन्दा उत्कृष्ट प्रशिक्षक झापाका सन्त बहादुर रायमाक्री बने ।
राईजिङ प्लेयर घरेलु टोली खोटाङकी रिया राई चुनिईन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ३–३ हजार र ट्रफी हात पारे । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार झापाकी जेनिफर मगरले हात पारिन् । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारिन् ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पनि झापा कै जेनिफर मगर घोषित भईन् । त्यसवापत उनले नगद ३० हजार र ट्रफी हात पारिन् । विजेता तथा विजेता उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत लगायतले पुरस्कृत गरे ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, बिराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति, खोटाङको संयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका कुल १४ जिल्लाहरुले सहभागिता जनाएका थिए ।