Province 2 मनकामनालाई प्रदेश २ एन्फा लिगको उपाधि
गोलनेपाल

चन्द्रपुर । मनकामना युवा क्लब, रौतहटले चन्द्रपुर मेयर प्रदेश नम्बर २ एन्फा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा बेङखडी युवा क्लब, महोत्तरीलाई २–१ ले हराउँदै मनकामनाले उपाधि माथि कब्जा जमाएको हो ।

चन्द्रपुर–६ रौतहट स्थित शेर बहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा सम्पन्न फाइनल खेलमा बेङ्खडीले खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा निराश बन्न पुग्यो । खेलको ३२औं मिनटमा बिपन श्रेष्ठको गोलबाट बेङ्खडीले खेलमा अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा उत्कृष्ट पूनःरागमन गरेको मनकामनाका लागि दुवै गोल वैकल्पिक खेलाडीले गरे । मनकामनाका लागि ७७औं मिनटमा आभी पहरीले बराबरी गोल फर्काए भने अन्तिमतिर धिरोज माझीले दोस्रो गोल गर्दै मनकामनालाई रोमाञ्चक जित दिलाउन सफल भए ।

विजेता बनेको मनकामना युवा क्लब, रौतहटले उपाधिसहित नगद २ लाख र ट्रफी हात पार्यो भने उपविजेता बेङ्खडीले १ लाखमा चित्त बुझायो । विजेता बनेको मनकामना युवा क्लबले अब प्रदेश नम्बर २ को प्रतिनिधित्व गर्दै एन्फा प्रेसिडेन्ट लिग कप खेल्नेछ ।

प्रदेश फुटबल संघ, प्रदेश नम्बर २ को आयोजना तथा चन्द्रपुर नगरपालिका र रौतहट जिल्ला फुटबल संघको विशेष सहयोगमासम्पन्न प्रतियोगितामा प्रदेश नम्बर २ का कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments