ANFA नवयुवालाई टिकुलीगढ कपको उपाधि
सुरज राना मगर

तिलोत्तमा । नव टिकुलीगढ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटीपिपलले जित्न सफल भएको छ ।

शनिबार सम्पन्न फाइनल भिडन्तमा नवयुवाले सञ्जिवनी युवा क्लबलाई टाईब्रेकरमा २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि टिकुलीगढ खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको नवयुवाले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता सञ्जिवनीले १५ हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी नवयुवाका जितेश गुरुङ चुनिए । उनले पुरस्कार वापत आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक सञ्जिवनीका शुवांकर जिसी घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि सञ्जिवनी कै दिपु पुन चुनिए । सर्वाधिक गोलकर्ता आयोजक नव टिकुलीगढ युवा क्लबका मिशन दर्लामी बन्दा उदियमान खेलाडीको पुरस्कार पनि आयोजक कै विजन बुढाले हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, आयोजक नव टिकुलीगढ युवा क्लबका अध्यक्ष तोरन गुरुङ, जिल्ला खेलकुद विकास समिति, रुपन्देहीका सदस्य अर्जुन क्षेत्री (हापु) लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

मैत्रीपुर्ण भेट्रान्स फुटबलमा भलवारी सफल

त्यस्तै फाइनल खेल अघि भएको मैत्रीपुर्ण भेट्रान्स फुटबल म्याचमा भलवारी भेट्रान्सले आयोजक नव टिकुलीगढ भेट्रान्सलाई शून्यका विरुद्ध १ गोलले हराएको थियो ।

फुटबलको माध्यमबाट स्वास्थ्य, खेलकुद र भाईचाराको सम्बन्धलाई कायम राख्ने उद्देश्यका साथ सो मैत्रीपूर्ण म्याच आयोजना गरिएको आयोजक नव टिकुलीगढ युवा क्लबका अध्यक्ष तोरन गुरुङले बताए ।

Post Comments