ANFA खुमलटार, एपिएफ र फ्रेण्डसको निर्णायक खेल आज
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबारदेखि अन्तिम चरणका खेलहरु शुरु हुँदैछन् । लिगमा आज चार खेलहरु हुँदैछन् जसमा तीन टोलीहरु एपिएफ, खुमलटार र फ्रेण्डसलाई रेलिगेशनबाट जोगिने मुख्य चुनौति हुनेछ ।

एन्फा कम्प्लेक्समा तीन बजेदेखि शुरु हुने खेलमा खुमलटारले लिग उपाधि जितिसकेको चर्च ब्वाईज युनाइटेडको सामना गर्दैछ । सम्झनु पर्ने कुरा त यी दुवै टोली यसै सिजन शिर्ष डिभिजनमा बढुवा भएका हुन् । जसमा चर्च ब्वाईजले ऐतिहासिक लिग उपाधि जित्दा खुमलटार भने रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको छ ।

लिगमा २५ खेलबाट २७ अंक जोडेको खुमलटार पुछारमा छ । र आज रेलिगेशनबाट जोगिन जित वाहेक टोलीसँग अर्को विकल्प छैन । जुन खुमलटारका लागि केही कठिन पनि देखिन्छ । उता ४५ अंकका साथ शिर्ष स्थानमा रहेको चर्च ब्वाईज भने जितका साथ लिगको सुखद समापन गर्न चाहन्छ ।

दशरथ स्टेडियममा ३ बजेदेखि नै शुरु हुने अर्को खेलमा २७ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा रहेको फ्रेण्डसले ३० अंकका साथ ११औं स्थानमा रहेको एपिएफको सामना गर्दैछ । यी दुवै टोलीको पनि रेलिगेशनको सम्भावना कायम छ । र दुवै टोली आज रेलिगेशनबाट जोगिन निश्चित जित र तीन अंकका लागि भिडने पनि तय छ ।

त्यस्तै च्यासल स्टेडियममा ३ बजेदेखि शुरु हुने अर्को खेलमा शिर्ष तीनका लागि नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्दै छन् । ३८ अंक जोडेको पुलिस तेस्रो स्थानमा छ भने ३५ अंकका साथ सातदोबाटो पाँचौं स्थानमा छ ।

त्यसैगरी दशरथ रंगशाला मै ६ बजेदेखि शुरु हुने दिनको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दैछ । समान ३१–३१ अंक जोडेका आर्मी र शेर्पा क्रमशः आठौं र दशौं स्थानमा छन् । र, दुवै टोली आज जितका साथ लिगको सुखद समापन गर्ने योजनाका साथ मैदानमा उत्रिने छन् ।

 

 

Post Comments