News गोलबजार मेयर कप शुरु, उद्घाटन खेलमै आर्मी स्तब्ध
गोलनेपाल

गोलबजार । रमपम चौथो गोलबजार मेयर कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब पराजित भएको छ ।

दोस्रो रोजाईको टोली लिएर उत्रिएको आर्मीले जलथल एफसी, झापासँग ३–१ को हार बेहोर्यो । जलथलको जितमा उमेश राईको नाममा दुई गोल रह्यो । राईले खेलको नवौं मिनटमै पहिलो गोलको खाता खोलेका थिए ।

तर ३७औं मिनटमा ओम प्रसाद रोकाले आर्मीका लागि बराबरी गोल फर्काउन सफल भए । यद्यपि जलथल त्यति मै रोकिएन । ६०औं मिनटमा बिजय भुजेलले थलथलका लागि दोस्रो गोल गरे भने ८०औं मिनटमा उमेश राईले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जलथलको जित पक्का गरेका थिए ।

खेलमा जलथलका दुई गोलकर्ता उमेश राई म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ६ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन २२ गते शनिबारको खेल एपिएफ क्लब काठमाडौं र डाँगीहाट एफसी, मोरङबीच हुने आयोजकले जनाएको छ ।

गोलबजार प्रतिभा क्लब र गोलबजार नगरपालिका, सिरहाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ७५ हजार हात पार्नेछ ।

 

Post Comments