News १६औं गोधुली कप शुरु, आयोजक मिरमिरेको विजयी शुरुवात
राजकुमार श्रेष्ठ

तामाफोक । बिहीबारदेखि यहाँ शुरु १६औं गोधुली कप नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवातका साथ आयोजक मिरमिरे युवा क्लब, संखुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ ।

तुमोक खेलमैदानमा भएको उद्घाटन खेलमा मिरमिरेले नेपाल पुलिस क्लब, बिराटनगर, मोरङलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ मिरमिरेका लागि सरोज जिमीले दुई गोल गरे भने प्रजल जिमी र अनिल जिमीले एक–एक गोल गरे । उता विभागीय टोलीका लागि पुजन राईले दुई गोल गरे भने सरोज राउत र सुनिल खड्काले एक–एक गोलको योगदान दिए । यद्यपि पेनाल्टी शुटआउटमा भने पुलिसको टिम निराश बन्न पुग्यो ।

खेलमा आयोजक मिरमिरेका प्रदिप जिमी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत मंसिर २३ गते शुक्रबारका दिन तीन खेलहरु हुने आयोजकले जानकारी दियो ।

मिरमिरे युवा क्लब, तामाफोक, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि मंसिर २५ गतेका दिन हुनेछ ।

 

Post Comments