News मच्छिन्द्रद्वारा चेन्चो सार्वजनिक
गोलनेपाल

काठमाडौं । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले आफ्नो नयाँ स्टार चेन्चो ग्याल्सेनलाई आधिकारिक रुपमा सोमबार सार्वजनिक गरेको छ । यसअघि विभिन्न सञ्चारमाध्यमसँगै स्वयम् गोलनेपालले पनि चेन्चो मच्छिन्द्र मै आवद्ध हुने खबर यसअघि प्रकाशित गरेको थियो ।

घरेलु मैदानमा प्रधानमन्त्री थ्री नेशन्स कप चलिरहेकै बेला चेन्चो मच्छिन्द्रमा आवद्ध हुने कुरा बाहिरिएको थियो । यद्यपि त्यसबारे क्लबले आधिकारिक रुपमा केही जानकारी नगराए तापनि सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि क्लबले भुटानी स्टारलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यक्रम मै मच्छिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोबीच सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान समेत भयो । यद्यपि उनको सम्झौता अवधी र पारिश्रमिकबारे भने विस्तृत रुपमा खुलाइएको छैन ।

२६ वर्षिय चेन्चोले भर्खरै मात्र नेपालमा सम्पन्न थ्री नेशन्स कपमा भुटानको कप्तानी गरेका थिए । साथै उनी भुटानका नियमित कप्तान पनि हुन् । त्यसबाहेक उनले राउण्डग्लास पञ्जाब एफसीका लागि गत महिना मात्र सम्पन्न चर्चित हिरो आई लिग जितेका थिए । पञ्जाब बसाईका क्रममा चेन्चो नेपालका कप्तान किरन चेम्जोङका क्लब टिममेट पनि थिए ।

त्यति मात्र नभएर चेन्चोले भारतको शिर्ष डिभिजिन इण्डियन सुपर लिगमा बैंगलुरु एफसी, केरला ब्लास्टर्सबाट पनि खेलिसकेका छन् । त्यस्तै भुटानसहित थाईल्याण्डमा पनि उनले व्यवसायीक फुटबल खेलेको अनुभव छ ।

हालै क्लबका महत्वपूर्ण दुई सदस्यद्वय सुजल श्रेष्ठ तथा रन्जित धिमालले विदेश पलायनको बाटो रोजेपछि मच्छिन्द्र दबाबमा परेको थियो । चेन्चोको आगमनसँगै मच्छिन्द्रलाई पनि केही राहत मिलेको छ ।

यस सिजन लिगमा सुस्त प्रदर्शन गर्दै हाल ५ खेलबाट ५ अंक मात्र जोडेको मच्छिन्द्र लिगतालिकाको ११औं स्थानमा छ ।

Post Comments