News थ्रीस्टारको चौथो जित, चर्च ब्वाईज रोकियो
गोलनेपाल

काठमाडौं । पूर्वविजेता थ्रीस्टार क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा बिहीबार चौथो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रीस्टारले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को जित निकाल्यो ।

दोस्रो हाफको ६४औं मिनटमा अजयी मार्टिन्स कायोडेले गरेको एक मात्र गोल स्टारलाई तीन अंक जोड्न निर्णायक बन्यो । यो जितसँगै ८ खेलबाट १४ अंक जोडेको थ्रीस्टार लिगतालिकाको पाँचौं स्थानमा छ र शिर्ष स्थानको टोली सातदोबाटो भन्दा दुई अंकले मात्र पछाडी छ । उता लिगमा यस सिजन खराब लयमा रहेको पुलिस ४ अंकका साथ पुछारमा छ ।

फ्रेण्डससँग रोकियो चर्च ब्वाईज

त्यस्तै बिहीबार नै दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाईज युनाइटेडले शुरुवाती अग्रता बनाएर पनि फ्रेण्डस क्लबसँग बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको छ ।

२१औं मिनटमा जोसेफ बेम्पाहको गोलबाट अग्रता बनाएको चर्च ब्वाईजले त्यसलाई दोस्रो हाफमा गुमाउन पुग्यो । दोस्रो हाफमा फ्रेण्डसले पेनाल्टीको अवसर पायो । जसलाई ७२औं मिनटमा अमित तामाङले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि ८ खेलबाट १४ अंक जोडेको चर्च ब्वाईज तेस्रो स्थानमा यथावत छ । उता फ्रेण्डस भने ५ अंकका साथ १३औं स्थानमा संघर्षरत छ ।

भर्खरै चर्च ब्वाईजको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका अनुभवी प्रशिक्षक बालगोपाल महर्जनले लिगमा आफ्नो नयाँ क्लबका लागि सुखद शुरुवात गर्नबाट चुकेका छन् ।

Post Comments