News आर्मीको जित, एनआरटीको छलाङ
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार दशौं चरणको शुरुवाती दुई खेलहरुमा निश्चित जितको नतिजा निस्किएको छ । दशरथ रंगशालामा भएका दुवै खेलहरुतर्फ एकमा त्रिभुवन आर्मी फुटबल क्लब र अर्कोमा न्युरोडटिम (एनआरटी) ले जित हात पारेका छन् ।

लिगमा मिश्रित प्रदर्शन गरिरहेको एनआरटीले मंगलबार खुमलटारमाथि ३–१ को प्रभावशाली जित निकाल्यो र लिगतालिकामा स्थान सुधार गर्न सफल भयो । एनआरटीका लागि खेलको ६५औं मिनटमा सरोज तामाङले पहिलो गोल गरे । ८२औं मिनटमा सञ्जिव विष्टले त्यो अग्रता दोब्बर पारे । त्यसको तीन मिनट लगतै मोहित गुरुङ्गले तेस्रो गोल गर्दे एनआरटीकोसिजनको दोस्रो जित सुनिश्चित गरे ।

उता खेलको अन्तिम मिनटतिर श्याम मुर्मुले खुमलटारका लागि एक मात्र सान्त्वना गोल फर्काए । तर टोलीलाई हारबाट जोगाउन सकेनन् । यो जितपछि १० खेलबाट १० अंक जोडेको एनआरटी लिगतालिकाको पनि १०औं स्थानमा उक्लेको छ । उता पराजित खुमलटार भने समान १० अंक भए तापनि गोलभिन्नताले एनआरटीभन्दा पछि पर्दै ११औं स्थानमा छ ।

आर्मीसँग मनाङ निराश

त्यस्तै दशरथ रंगशालामा मंगलबार नै भएको हेभिवेट भिडन्तमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबमाथि १–० को महत्वपूर्ण जित निकाल्यो । ७५औं मिनटमा सुदिल राईले गरेको एक मात्र गोल आर्मीलाई सिजनको चौथो जित दिलाउन निर्णायक बन्यो ।

यो जितपछि १० खेलबाट १५ अंक जोडेको आर्मी चौथो स्थानमा पुगेको छ । उता पराजित मनाङको पनि समान १५ अंक भए तापनि गोलभिन्नताले आर्मी भन्दा पछि पर्दै पाँचौं स्थानमा छ ।

Post Comments