News संकटा र थ्रीस्टारको हेभिवेट भिढन्ट, शेर्पा र सातदोबाटो पनि भिड्दै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको ११औं चरणतर्फ आज साँझ ६ बजेदेखि दशरथ रंगशालामा शुरु हुने खेलमा दुई हेभिवेट टोली संकटा क्लब र थ्रीस्टार क्लब भिड्दैछन् ।

१० खेलबाट १८ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा रहेको थ्रीस्टार र १५ अंकका साथ आठौं स्थानमा रहेको संकटाको लक्ष्य शिर्ष तीन नै हुनेछ । लिगलिडर जावलाखेलले पाँच अंकको स्पष्ट अग्रता बनाएपछि तत्कालका लागि अन्य टोलीहरुको सम्भावना शिर्ष तीन नै रहेको छ ।

थ्रीस्टारले आज जित हात पारे लिगलिडर जावलाखेलसँगको दुरी छोट्याउने छ भने संकटाले जित हात पारे शिर्ष तीनका टोलीहरुसँग आफ्नो दावेदारीता पेश गर्न सफल हुनेछ ।

दिनकै पहिलो खेलमा चौथो स्थानको सातदोबाटो रेलिगेशन क्षेत्रमा रहेको १३औं स्थानको शेर्पा भिड्ने छन् । दश खेलबाट १७ अंक जोडेको सातदोबाटोले पनि आज आफू अनुकुल नतिजा निकाल्न सके शिर्ष तीनमा आफ्नो दावेदारीता बलियो बनाउनेछ । उता शेर्पाले आफू अनुकुल नतिजा निकाल्न सके रेलिगेशन क्षेत्रबाट बाहिर निस्किने सम्भावना पनि छ ।

शेर्पा र सातदोबाटोबीचको खेल भने ३ बजेदेखि च्यासल स्टेडियममा हुने कार्यक्रम छ ।

Post Comments