News सरस्वती युथ अन्तिम चारमा
गोलनेपाल

कर्जन्हा । संघर्षपुर्ण जितका साथ सरस्वती युथ क्लब, काठमाडौं यहाँ जारी दोस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ सरस्वतीले डाँगीहाट फुटबल क्लब, मोरङलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

बन्दीपुर प्राङ्गणको खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ सरस्वतीका लागि बिवश मगरले गोल गरे भने डाँगीहाटका लागि अभिषेक लिम्बुले गोल गरेका थिए । टाईब्रेकरमा भने सरस्वतीले डाँगीहाटमाथि ५–४ को जित निकाल्न सफल भयो ।

खेलमा सरस्वतीका बिवश मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५०० र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत मंसिर १२ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।

कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही मंसिर १६ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।

Post Comments