News बागमती दोस्रो कार्तिकेय कुमार गोल्डकपको फाइनलमा
गोलनेपाल

कर्जन्हा । बागमती युवा क्लब, सर्लाही यहाँ जारी दोस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमतीले एपिएफ, बर्दिबासलाई सडन डेथमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए । बन्दीपुर प्राङ्गणको खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ बागमतीका लागि बिजय घलानले गोल गरेका थिए भने एपिएफका लागि सञ्जिव कार्कीले गोल गरेका थिए ।

त्यसपछि टाईब्रेकरतर्फ धकेलिएको खेलमा टाईब्रेकरबाट पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा बागमतीले एपिएफमाथि ७–६ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भएको हो । खेलमा बागमतीका गोलरक्षक रबिन बस्नेत म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५०० र ट्रफी हात पारे ।

अब उपाधिका लागि बागमतीले यही मंसिर १६ गते हुने फाइनलमा बिरगंज युनाइटेड, पर्सासँग खेल्नेछ । कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments