News जावलाखेलका रुपले जन्मदिनमा गरे विपन्न परिवारलाई सहयोग
गोलनेपाल

काठमाडौं । नेपालमा फुटबल खेलेरै आर्जन गरेको केही रकम समाजसेवामा खर्चिने खेलाडीहरुको नाम खोजी गर्ने हो भने त्यो सूचीमा कम नै खेलाडीहरुको नाम भेटिन सक्छन् ।

त्यहि सूचीमा आफूलाई उभ्याने प्रयासमा छन् जावलाखेल युथ क्लबका मिडफिल्डर रुप बहादुर लामा । यहि असार ४ गते बिहीबार आफ्नो २६औं जन्मदिन मनाएका रुपले त्यो जन्मदिनलाई पनि विशेष र फरक शैलीमा मनाए ।

हाल आफ्नो गृहजिल्ला रौतहटमा रहेका रुपले जन्मदिनकै अवसर पारेर कटनी गाउँका एक विपन्न परिवारलाई अति आवश्यक खाद्यान्न सामाग्री सहयोग गरेका छन् । कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी गरिबहरु नै मारमा परेको भन्दै रुपले आफ्नो यो सानो सहयोगले एक परिवारलाई केही हदसम्म भोको बस्न नपर्ने बताए ।

रुप भन्छन्, "पैसा धेरै भएर होईन, आफ्नो जन्मदिनलाई केही फरक शैलीमा मनाउने सोंचले नै यो सहयोग गर्ने अवसर जुरेको हो । यसलाई समाजसेवा भन्दा पनि यो कठिन परिस्थतिमा मानवताको हैसियतले गरेको सहयोग भनेर बुझ्दा हुन्छ । खेलेरै ठूलो काम गर्न नसके तापनि मानवताको हैसियतले यस्ता सहयोगहरु आगामी दिनहरुमा निरन्तर गर्ने मेरो सोंचाई छ ।"

स्मरण रहोस, रुपले केही महिना अघि सम्पन्न चौथो राजर्षि जनक कपमा पनि आफूले पाएको फुटबल बुट उपहार स्थानीय महिना खेलाडीलाई फुटबलमा लाग्न प्रोत्साहन स्वरुप सहयोग गरेका थिए ।

 

Post Comments