News समपुर्ण क्वाटरफाइनलमा प्रवेश
सुरज राना मगर

करौजिया । समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रिक्वटरफाइनलतर्फ समपुर्णले देवीनगर युवा क्लब,देवीनगरलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यसअघि तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ समपुर्णका लागि सबी गुरुङ र निखिल पुन मगरले गोल गरे भने देवीनगरका लागि मिलन आले र अनिल क्षेत्रीले गरे ।

टाईब्रेकरमा भने समपूर्णले देवीनगरमाथि ५–४ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्यो । खेलमा समपुर्णका निखिल पुन मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १७ गते बिहीबारको अन्तिम प्रिक्वाटरफाइनल खेल राधाकृष्ण युवा क्लब, दल्का र माछापुच्छ्रे युवा क्लब, पक्लिहवा बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या। नरजंज गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

Post Comments