Province 5 रुपन्देहीमा दोस्रो जी ट्वान्टी फाईभ कप शुरु
सुरज राना मगर

बुटवल । विजयादशमी तथा शुभदिपावलीको अवसर पारी जी ट्वान्टी फाईभ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा दोस्रो जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय सेभेन ए साईड भेट्रान फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार बिहान भएको शुरुवाती दुई खेलहरुमा वार्ड नम्बर ७ र साविक विजेता वार्ड नम्बर ११ ले विजयी शुरुवात गरे ।

उद्घाटन खेलमा वार्ड नम्बर ७ ले वार्ड नम्बर १९ लाई ३–० को अन्तरले हरायो । खेलमा वार्ड नम्बर ७ का याम राना प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को खेलमा वार्ड नम्बर ११ ले वार्ड नम्बर १७ माथि ५–० को प्रभावशाली जित हात पार्यो । खेलमा वार्ड नम्बर ११ का विजय रायमाफी प्लेयर अफ द म्याच चुनिए । सोमबार नै हुने अन्य दुई खेलहरु बेलुका हुने समेत खेल संयोजक रमेश जोशीले बताए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, आयोजक क्लबका अध्यक्ष साजन भारी लगायतले संयुक्त रुपमा गरेका थिए ।

यही असोज ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रमेश जोशीले जानकारी दिए ।

Post Comments