बुटवल । रुपन्देहीमा जारी दोस्रो जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोलीहरु वार्ड नम्बर २ र वार्ड नम्बर ११ बनेका छन् ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ७ लाई २–० को अन्तरले हरायो । खेलमा वार्ड नम्बर २ का लागि दुवै गोल बिष्णु बहादुर थापाले गारे । र, वार्ड नम्बर २ कै बिष्णु बहादुर थापा प्लेयर अफ द म्याच समेत बने ।
त्यस्तै मंगलबार बिहान नै सम्पन्न दोस्रो क्वाटरफाइनलमा साविक विजेता वार्ड नम्बर ११ ले वार्ड नम्बर ३ माथि १–० को झिनो अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । वार्ड नम्बर ११ का लागि देवान गुरुङले एक मात्र निर्णायक गोल गरे । प्लेयर अफ द म्याच बने वार्ड नम्बर ११ कै कप्तान सोम बहादुर थापा ((सुरज) घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार बेलुका नै तेस्रो र चौथो क्वाटरफाइनल खेलहरु हुने खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए ।
जी ट्वान्टी फाईभ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ३० गतेका दिन हुनेछ ।