News संकटालाई तीन अंक, सातदोबाटो रोकियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार संकटा क्लबले महत्वपूर्ण तीन अंक बटल्दा उत्कृष्ट लयमा रहेको सातदोबाटो युथ क्लबले भने बराबरी खेल्दै अंक बाँडेको छ ।

च्यासल स्टेडियममा भएको दिनको पहिलो खेलमा संकटाले एपिएफ फुटबल क्लबमाथि १–० को जित निकाल्यो । पहिलो हाफको २९औं मिनटमा जुनियर एनकेंगुले पेनाल्टीमार्फत गरेको एक मात्र गोल संकटालाई चौथो जित र तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितपछि ९ खेलबाट १५ अंक जोडेको संकटा लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । उता पराजित एपिएफ भने ११ अंकका साथ नवौं स्थानमा छ ।

सातदोबाटो र पुलिसको बराबरी

त्यसैगरी यस सिजन उत्कृष्ट लयमा रहेको सातदोबाटोले दशरथ रंगशालामा भएको खेलमा पुछारमा संघर्षरत टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बन्यो ।

यो नतिजापछि ९ खेलबाट १७ अंकका सात सातदोबाटो दोस्रो स्थानमा छ र शिर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । शिर्ष स्थानमा समान १७ अंक जोडेको जावलाखेल छ । यद्यपि गोलभिन्नतामा जावलाखेल सातदोबाटो भन्दा अगाडी निस्केको छ ।

त्यसैगरी सातदोबाटोलाई बराबरीमा रोक्न सफल पुलिस ५ अंकका साथ १३औं स्थानमा उक्लिएको छ । पुछारको टोली फ्रेण्डसको पनि समान ५ अंक भए तापनि पुलिसले राम्रो गोलभिन्नताका आधारमा फ्रेण्डसलाई पछि छाडन सफल भएको छ ।

Post Comments