News शेर्पा विरुद्ध फ्रेण्डसको सनसनी, स्टार र चर्च ब्वाईज बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ संघर्षरत टोली फ्रेण्डस क्लबले सोमबार शानदार जित हात पार्दै लिगतालिकाको स्थानमा पनि सुधार गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा फ्रेण्डसले हिमालयन शेर्पा क्लब विरुद्ध ६–० को एकतर्फी जित निकाल्यो ।

शेर्पा विरुद्ध पूर्ण हावी देखिएको फ्रेण्डसले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको दोस्रो मिनट मै रफिक अमिनुले फ्रेण्डसका लागि पहिलो गोल थपे । ३१औं मिनटमा अक्टामोवले त्यो अग्रता दोब्बर पारे । लगतै ३८औं मिनटमा अमिनुले नै व्यक्तिगत दोस्रो तथा फ्रेण्डसका लागि तेस्रो गोल थपे ।

त्यस्तै दोस्रो हाफको ५८औं मिनटमा अमित तामाङले पेनाल्टीबाट चौथो गोल गरे भने ७१औं मिनटमा उत्तम राईले पाँचौं गोल थपे । खेलको अन्तिमतिर इन्जुरी समयमा टोरिक जेबरिनले छैठौं गोल गर्दै फ्रेण्डसको एकतर्फी फराकिलो जित सुनिश्चित गरे ।

यो जितपछि लिगमा दोस्रो महत्वपूर्ण जित हात पारेको फ्रेण्डस ९ खेलबाट ८ अंक जोड्दै रेलिगेशन क्षेत्र छाडेर १२औं स्थानमा उक्लेको छ । उता पराजित शेर्पा भने ९ अंकका साथ फ्रेण्डस भन्दा एक स्थानमाथि ११औं स्थानमा छ ।

त्यसैगरी सोमबार च्यासल स्टेडियममा भएको अर्को खेलमा थ्रीस्टार क्लब र चर्च ब्वाईज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि ९ खेलबाट १५ अंक जोडेको चर्च ब्वाईज तेस्रो स्थानमा छ र शिर्ष स्थानको टोली जावलाखेल भन्दा दुई अंकले पछाडी छ । थ्रीस्टारको पनि समान १५ अंक छ र गोलभिन्नताले पछि पर्दै छैठौं स्थानमा छ ।

Post Comments