News थ्रीस्टारको तीन गोल, तीन अंक र दोस्रो स्थान
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ उत्कृष्ट लयमा देखिएको थ्रीस्टार क्लबले आइतबार बलियो प्रतिद्वन्द्वी संकटा क्लबमाथि प्रभावशाली जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले संकटामाथि ३–० को जित निकाल्दै महत्वपूर्ण तीन अंक पनि जोड्यो ।

थ्रीस्टारका लागि अजयी मार्टिन्स कायोडेले खेलको पहिलो हाफतर्फ ४२औं मिनटमा र दोस्रो हाफको शुरुवाती मिनट मै दोस्रो गोल गरेका थिए । त्यस्तै थप एक गोल भने अर्का स्टार फरवार्ड सन्तोष साहुखलले इन्जुरी समयमा गरेका थिए ।

यो जितसँगै ११ खेलबाट २१ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा उक्लेको छ । र लिगलिडर जावलाखेल भन्दा दुई अंकले मात्र पछाडी छ । उता पराजित संकटा भने १५ अंकका साथ आठौं स्थानमा छ ।

शेर्पासँग रोकियो सातदोबाटो

त्यस्तै च्यासल स्टेडियममा भएको अर्को खेलमा हिमालयन शेर्पाृ क्लब र सातदोबाटो युथ क्लबले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । खेल शुरु भएको पहिलो मिनट मै दिपकराज सिंह ठकुरीको गोलबाट सातदोबाटोले खेलमा अग्रता बनाएको थियो ।

पहिलो हाफसम्म सोही अग्रता कायम राखेको सातदोबाटोले अन्तिमतिर दुई गोल खान पुग्दा जितविहीन बन्न पुग्यो । शेर्पाका लागि ७१औं मिनटमा निशान लिम्बुले बराबरी गोल फर्काए । यद्यपि त्यसको आठ मिनट लगतै दिपकराज सिंह ठकुरीले सातदोबाटोलाई फेरि खेलमा अग्रता दिलाए ।

तर सातदोबाटोको त्यो अग्रता पनि धेरैबेर टिक्न सकेन । ८३औं मिनटमा सुशिल राईले शेर्पाका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो बराबरी नतिजापछि ११ खेलबाट १८ अंक जोडेको सातदोबाटो लिगतालिकाको चौथो स्थानमा पुगेको छ । तेस्रो स्थानको टोली चर्च ब्वाईजको पनि समान १८ अंक भए तापनि गोलभिन्नताका आधारमा सातदोबाटो पछि पर्न पुगेको छ । उता शेर्पा भने १० अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ ।

Post Comments