News मोहन बगानसँग निराश मच्छिन्द्र
गोलनेपाल

काठमाडौं । एसियाली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको खेलमा बुधबार नेपालको मच्छिन्द्र फुटबल क्लबले हार बेहोरेको छ । कोलकाता स्थित साल्ट लेक स्टेडियममा भएको खेलमा मच्छिन्द्रले घरेलु टोली मोहन बगान सुपर जायन्टससँग १–३ को हार बेहोरेको हो ।

मोहन बगानका लागि अनवर अलीको नाममा दुई गोल रहयो । मध्यान्तर अघि ३८औं मिनटमा अलीले पहिलो गोल गरे । र, पहिलो हाफसम्म घरेलु टोलीलाई १–० को अग्रता दिलाए । ५९औं मिनटमा जेसन कमिंग्सले मोहन बगानका लागि दोस्रो गोल थपे ।

यद्यपि ७८औं मिनटमा मेसुकेले मच्छिन्द्रका लागि एक गोल फर्काउँदै टोलीलाई पनि खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । ८९औं मिनटमा अनवर अलीले नै व्यक्तिगत दोस्रो तथा घरेलु टोलीका लागि तेस्रो गोल गर्दै मोहन बगानको जित सुनिश्चित गरे ।

समग्रमा मच्छिन्द्रको खेल इण्डियन सुपर लिग जायन्टस मोहन बगान जस्तो क्लब विरुद्ध सन्तोषजनक रह्यो । मच्छिन्द्रका कप्तान तथा गोलरक्षक बिशाल श्रेष्ठको प्रदर्शन पनि प्रशंसनीय रह्यो । विपक्षीको प्रहार रोक्न अधिकांश समय व्यस्त बिशालले उत्कृष्ट बचाउहरु पनि गरे ।

यो हारसँगै मच्छिन्द्रको एएफसी कपको यात्रा भने समाप्त भएको छ । उता जित हात पारेको मोहन बगानले प्ले अफमा बंगलादेशी टोली ढाका अबाहानीसँग खेल्नेछ । ढाकाले बुधबार नै भएको दोस्रो चरणतर्फको छनौट खेलमा माल्दिभ्सको क्लब इगल्सलाई २–१ ले हराउँदै प्ले अफमा स्थान सुरक्षित गरेको थियो ।

Post Comments