Province 3 न्यु स्टार, रिभर साईड र लिखु भुजीको जित
गोलनेपाल

मन्थली । चौथो रामेछाप कप अन्तर्गत सोमबार सम्पन्न भएका तीन खेलहरुमा न्यु स्टार युथ क्लब, रिभर साईड स्पोर्टस क्लब र लिखु भुजी रामेछाप युथ क्लबले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा न्यु स्टारले श्री फुलसी जनप्रिय युथ क्लबलाई २–० ले हरायो । खेलमा न्यु स्टारका लागि सुनिल तामाङ र रन्जित लामाले गोल गरे । रन्जित लामा प्लेयर अफ द म्याच समेत चुनिए ।

दोस्रो खेलमा रिभर साईडले तामाकोशी रिभर साईड युथ क्लबलाई ६–१ को अन्तरले पराजित गर्यो । रिभर साईडको जितमा सुदिप मगरले ह्याट्रिक गरे । प्रनिष कुँवरले दुई गोल गर्दा थप एक गोल आयुष राना मगरले गरे । उता तामाकोशीका लागि भरत थापा मगरले एक मात्र गोल फर्काए । खेलमा रिभर साईडका ह्याट्रिककर्ता सुदिप मगर प्लेयर अफ द म्याच बने ।

तेस्रो खेलमा लिखु भुजीले मन्थली साँस्कृतिक युवा समाजलाई ४–० को अन्तरले निराश बनायो । लिखु भुजीको जितमा राम बहादुर बुढाथोकीले ह्याट्रिक गरे भने अर्को एक गोल सागर तामाङको नाममा रह्यो । खेलमा लिखु भुजीका ह्याट्रिककर्ता राम बहादुर बुढाथोकी प्लेयर अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत असोज २७ गते मंगलबारको पहिलो खेलमा रिभर साईड स्पोर्टस क्लब र मन्थली ब्वाईज बीच हुनेछ भने दोस्रो खेल लिखु भुजी रामेछाप युथ क्लब र आकाशे ब्वाईज क्लबबीच हुनेछ ।

यही असोज २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

 
Post Comments