भरतपुर । अठ्ठाईस बिघा युवा क्लब लगातार दोस्रो पटक भरतपुर १८ गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनलमा वीरगन्ज युनाइटेडलाई टाईब्रेकरमा हराउँदै अठ्ठाईस बिघा दोस्रो पटक उपाधि नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा अठ्ठाईस बिघाले वीरगन्जलाई सडन डेथमा निराश बनायो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको ३६ औं मिनेटमा बिक्रम लामाको गोलमा वीरगन्जले अग्रता लियो ।
तर उसको अग्रता धेरै समय टिकेन । ३९ औं मिनेटमा अठ्ठाईस बिघाले पेनाल्टी पायो । प्राप्त अवसरमा मुकुन्द निउरेले अठ्ठाईस बिघाका लागि बराबरी गोल फर्काए । थप समयमा गोल हुन सकेन र खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पनि ४-४ को बराबरीपछि सडन डेथमा अठ्ठाईस बिघाले बाजी मार्यो । अठ्ठाईस बिघाका जेबिन लामिछाने प्लेयर अफ दि म्याच बने ।
अठ्ठाईस बिघा यसअघि पहिलो संस्करणको भरतपुर १८ गोल्डकपमा पनि फाइनलमा पुगेको थियो । पहिलो संस्करणमा पनि उपाधि नजिक पुगेको अठ्ठाईस बिघा फाइनलमा आयोजक भरतपुर १८ सँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।