Province 5 सुनौलो संगमलाई दशौं फर्साटिकर कपको उपाधि
सुरज राना मगर

फर्साटिकर । रोमाञ्चक जितका साथ यहाँ सम्पन्न शुद्धोधन गाउँपालिका दशौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सुनौलो संगम युवा क्लब, देवीनगरले जितेको छ ।

फर्साटिकर माविको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा सुनौलोले कपिलवस्तु–११ माथि ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको सुनौलो संगमले उपाधिसहित नगद २ लाख ५५ हजार हात पार्यो भने उपविजेता कपिलवस्तुले १ लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी सुनौलो संगम कै एलिस मगर घोषित भए । उनले पुरस्कार वापत नगद १०,५५५ रुपैयाँसहित ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि सुनौलो कै दिपेश परियार घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने कपिलवस्तुका सन्जु सेनले हात पारे । दुवै खेलाडीले नगद ५,५५५ रुपैयाँसहित ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवर लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

मोफसलको फुटबलमा राम्रो पहिचान बनाएको फर्साटिकर युवा क्लबको आयोजना तथा शुद्धोधन गाउँपालिकाको मुख्य प्रायोजनमा माघ ६ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र नवलपुरका गरी कुल १६ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक बिष्णु पंगेनीले बताए । उनले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई आभार र धन्यवाद समेत प्रकट गरे ।

Post Comments