News आर्मी र मनाङको हार, मच्छिन्द्र रोकियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार तीन हेभिवेट टोलीहरु मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सुखद नतिजालाई आत्मसात गर्न असफल भएका छन् । नयाँ वर्षको सुखद शुरुवात गर्ने उद्देश्यका साथ मैदानमा उत्रिएका मनाङ र आर्मीले हार बेहोर्दा मच्छिन्द्र भने बराबरीमा रोकिएको छ ।

च्यासल स्टेडियममा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबसँग ०–३ को हार बेहोर्यो । खेलको चौथो मिनट मै एन्कोटो मासोबीले जावलाखेलका लागि पहिलो गोल गरे । थप दुई गोल भने खेलको अन्तिमतिर इन्जुरी समयमा भयो । ९०+१र्औं मिनटमा फोडे फोफनाले जावलाखेलका लागि दोस्रो गोल थपे भने लगतै एन्कोटोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जावलाखेलको जित पक्का गरे ।

उता दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले न्युरोडटिम (एनआरटी) सँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । खेलको ३९औं मिनटमा ओमोलजा करिमको गोलबाट अग्रता लिएको मच्छिन्द्रले त्यसलाई दोस्रो हाफमा गुमाउन पुग्यो । ६७औं मिनटमा स्टेफन जुनियरले एनआरटीका लागि बराबरी गोल गर्दै मच्छिन्द्रसँग अंक खोस्न सफल भएका थिए ।

दिनको अन्तिम खेलमा नवप्रवेशी टोली खुमलटारले बलियो आर्मीलाई ३–२ ले हरायो । खेलको सातौं मिनटमै मेसुके ओलुमुको गोलबाट खुमलटारले खेलमा अग्रता लिएको थियो । यद्यपि १८औं मिनटमा नवयुग श्रेष्ठले पेनाल्टीबाट आर्मीका लागि बराबरी गोल फर्काएका थिए । तर, खुमलटाले २७औं मिनटमा मेसुके कै गोलबाट फेरि खेलमा अग्रता लियो ।

पहिलो हाफसम्म २–१ को अग्रता बनाएको खुमलटारका लागि ५२औं मिनटमा रेजिन सुब्बाले तेस्रो गोल थपे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता आर्मीका लागि खेलको अन्तिमतिर सुशान्त चौधरीले दोस्रो गोल फर्काए तापनि टोलीको हार टार्न अबेर भईसकेको थियो ।

 

Post Comments